Pages

Wednesday, March 11, 2026

मिनामकोट क्षेत्रमा फलाम खानीको संभावना र यथार्थता !

 

 

 एकराज सिग्देल

शुक्लागण्डकी नगरपालिकाको ढोरक्षेत्रमा फलाम तथा तामाखानी उत्खानन सम्भावनाका संबन्धमा नेपाल सरकारका सचिब श्री राजकुमार श्रेष्ठको अध्यक्षतामा प्रधानमन्त्री कार्यालयमा मिति २०८२/०५/२३ गतेका दिन बैठक सम्पन्न भयो । सो बैठकमा खानी तथा भूगर्भ विभाग र उद्योग विभागका महानिर्देशक (डीजी), लगाएत सरकारी उच्च पदस्थ कर्मचारीहरुको सहभागीता रहेको थियो। सो दिनको बैठकको समन्वय, नेपाल सरकारका उपसचिव तथा ढोरेली सेवा समाज काठमान्डौका सदस्य राजन भट्टराईले गर्नुभएको थियो।

ढोरेली सेवा समाज काठमाडौँको तर्फबाट तारा राउत, मधु सुदन सिग्देल, धर्म अर्याल, युबराज थापा र एकराज सिग्देल सहभागी हुनु भएको थियो। बैठकको प्रारम्भमा उपसचिव राजन भट्टराईले सो कार्यक्रमको उद्देश्य र ढोरेली सेवा समाज काठमान्डौको अपेक्षाका बारेमा जानकारी दिनुभएको थियो ।

 त्यसैगरी एकराज सिग्देलले शुक्लागण्डकी नगरपालिकाले आफ्ना बार्षिक नीतिहरूमा फलाम तथा तामा खानीलाई सम्भावित आम्दानीको स्रोतको रूपमा पहिचान गरेको, तत्कालिन प्रधानमन्त्रीले मिनामकोटलाई फलाम खानीको सम्भावित स्थानका रूपमा घोषणा गर्नुभएको, खानी तथा भूगर्भ विभागद्वारा सन् २०१९ सेप्टेम्बरमा र कबिराज पौडेलद्वारा सन् २०२३ मा गरिएका अनुसन्धान साथै मिनामकोटबाट उत्खनन गरिएको फलाम प्रयोग गरी भीमाद नगरपालिकामा अन्तर्गतको सेती नदीमा झोलुङ्गे पुल निर्माण गरिएको ऐतिहासिक तथ्यसमेत उल्लेख गर्दै, विस्तृत अध्ययन आवश्यकता रहेको औंल्याउनुभयो।

यहाँनिर उल्लेख गर्नुपर्ने सन्दर्भ के छ भने, सन् १९८३ मा ढोर मिनामकोट  तथा वरपरको क्षेत्रमा फलाम तथा तामा खानीको सम्भावना संबन्धि अध्ययन भइसकेको तथ्य बिभिन्न पत्रपत्रिकामा उल्लेखित छ । उक्त अध्ययनहरुले मिनामकोट, खोरादी र भक्कल क्षेत्रलाई तामा खानीको सम्भावित क्षेत्रको रूपमा पहिचान गरेको पाइन्छ र मिनामकोट क्षेत्रमा ०.२५% देखि १.४% सम्म तामा रहेको तथ्य उजागर गरेको छ । खानी तथा भू-गर्भ विभागका विज्ञहरूको टोलीले सन् २०१९ मा मिनामकोट, लोकतेटार, खोरादी र आसपासका क्षेत्रमा फलाम र तामाको खानी उत्खननको सम्भावनाका बारेमा अन्वेषण गरेका थिए। विभागबाट खटिएका विज्ञहरुले स्थानीय जानकारहरुसँगको परामर्श तथा स्थलगत निरीक्षणका आधारमा, भक्कल क्षेत्रमा फलाम खानि हुन सक्ने सम्भावना उजागर गरेका थिए । सो बमोजिम अध्ययन गर्दा उक्त स्थानमा २१% देखि ३५% फलाम रहेको पाइएको अध्ययन प्रतिबेदनमा उल्लेख छ । त्यसैगरी, सो हि अध्ययनले ढोरको बसुवा क्षेत्रमा ०.०१% देखि २.९% सम्म तामा रहेको प्रक्षेपण गरेको छ, जुन अत्यन्त न्युन हो । यसरी फलाम तथा तामा दुवैको मात्रा अत्यन्त न्युन हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै, सो अध्ययनले थप अनुसन्धान गर्नको लागि सिफारिस गरेन। यी सबै अध्ययनहरूलाई एकसाथ राखेर हेर्दा, यी क्षेत्रहरूमा फलाम वा तामाको भण्डार रहने सम्भावना निकै न्यून देखिन्छ।

 

यी माथि उल्लेखित तथ्यहरुलाई पुस्ट्याईहुने विवरण खानी तथा भूग-र्भ विभागका महानिर्देशक दिनेश नापितले उक्त बैठकमा प्रस्तुत गर्नु भएको थियो । उहाँका अनुसार विभिन्न समयमा विभिन्न निकायहरूद्वारा सो स्थानमा अध्ययन भैसकेको छ । खानी तथा भू-गर्भ विभाग र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) दुवैले उक्त स्थान फलाम र तामाको उत्खननका लागि उपयुक्त नभएको निष्कर्ष निकालेको बताउनु भयो ।

 

उक्त क्षेत्रमा खानि अध्ययन र उत्खननको लागि निजि ब्यबसायीलाई लाइसन्स दिइएको भएता पनि सो कम्पनीले हालसम्म उत्खनन कार्य प्रारम्भ नगरेकोबाट पनि के प्रस्ट हुन्छ भने, सो क्षेत्रमा फलाम तथा तामाको मात्रा अत्यन्त न्यून छ भन्ने भनाई खानि तथा भू-गर्भ विभागका महानिर्देशकको रहेको थियो । उहाका अनुसार UNDP को अध्ययन प्रतिबेदनले उक्त स्थानमा करिब १००० ppm तामाको मात्रा रहेको उल्लेख गरेको छ, जुन अत्यन्त न्यून हो । भौगोलिक अध्ययन, नक्साङ्कन, प्रयोगशाला परीक्षण र भौगर्भिक बनावटको आधारमा उक्त क्षेत्र प्राविधिक दृष्टिले खानी उत्खननका लागि उपयुक्त नभएको तथ्य माहानिर्देशक नापितले प्रस्तुत गर्नु भएको थियो । तथापि, अन्य स्थलहरूमा सम्भावना देखिएमा विभागले थप अध्ययन गराउन सक्ने भनाई माहानिर्देशक नापितले राख्नु भएको थियो ।  

 

तत्कालिन प्रधानमन्त्रीले मिनामकोट क्षेत्रमा फलाम खानी रहेको भन्ने सार्वजनिक अभिव्यक्ति दिनु भएको सन्दर्भमा, समाजका सदश्य राजन भट्टराईको सुझावअनुसार ढोरेली सेवा समाज काठमाडौँको तर्फबाट महासचिब धर्म अर्यालले प्रधानमन्त्री कार्यालयमा केहि दिन अगाडी औपचारिक अध्ययनको लागि अनुरोध पत्र दर्ता गराउनु भएको थियो। सो अनुरोध पत्रको आधारमा मिति २०८२/०५/२३ गतेका दिन ढोरेली सेवा समाज काठमाडौँको समेत प्रतिनिधित्व हुने गरि बैठकको आयोजना गरिएको थियो ।

 

यो लेख स्थानिय पत्रिकामा प्रकाशित भएको थियो

परिवर्तन सम्भब छ

 

 एकराज सिग्देल

ढोरेली सेवा समाज, काठमाडौं र तालबेसी माध्यमिक विद्यालय, तनहुँको संयुक्त आयोजनामा सामुदायिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता तथा ढोर क्षेत्रमा अवस्थित सामुदायिक विद्यालयमा एसइई २०८१ मा उत्कृष्ट नतिजा ल्याउने छात्र–छात्रालाई सम्मान गर्ने कार्यक्रम मिति २०८२/०८/१९ गते तालबेसी माविमा सफलतापूर्वक सम्पन्न भयो।

वक्तृत्वकला प्रतियोगितामा शुक्लागण्डकी नगरपालिका अन्तर्गत रहेका ढोर क्षेत्रका सातवटा सामुदायिक विद्यालयबाट छनोट भएका विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगिताका लागि सु-शासन र स्तरीय शिक्षा, अनुशासन, वातावरण र विकास, संविधानमा समेटिएका शैक्षिक विकासका प्रावधान, प्रविधिमैत्री शिक्षा जस्ता समसामयिक विषयहरू समेटिएका थिए। प्रतियोगी वक्ताहरूले आफ्ना विचारहरू प्रस्तुत गर्दै समाजका सकारात्मक तथा नकारात्मक पक्षहरूलाई यथार्थरूपमा उजागर गरेका थिए। प्रतियोगितामा नागरिक समाज, पत्रकार, विद्यार्थी, शिक्षक तथा ढोरेली सेवा समाज काठमाडौंका पदाधिकारीसहित करिब ७०० जनाको उपस्थिति रहेको थियो। वक्तृत्वकला प्रतियोगिता बहुआयामिक महत्त्वको रहेको थियो।

 

प्रतियोगितामा प्रतिस्पर्धी मूल्यांकनका लागि पाँच सदस्यीय निर्णायक मण्डल गठन गरिएको थियो, जसमा शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका अनुभवी तथा समाजसेवी व्यक्तित्वहरू समावेश गरिएका थिए। मूल्यांकनका आधारहरू पारदर्शी, स्पष्ट र मापनयोग्य भएकाले प्रतियोगिता निष्पक्ष तथा विवादरहित भएको थियो। समारोहमा शिक्षक तथा विद्यार्थीको प्रभावकारी परिचालनले विद्यालय प्रशासनले प्रतियोगितालाई उच्च प्राथमिकतामा राखेर व्यवस्थित रूपमा सञ्चालन गरेको स्पष्ट देखिन्थ्यो।

समारोह सफल बनाउन विद्यार्थीहरूलाई उनीहरूको सिप, क्षमता तथा रुचिका आधारमा विभिन्न व्यवस्थापकीय जिम्मेवारीमा परिचालित गरिएको थियो । कोही विद्यार्थी खाजा तथा खाना व्यवस्थापनमा, कोही सांस्कृतिक कार्यक्रम प्रस्तुतिको तयारीमा, भने कसैलाई पाहुनाको स्वागत–सत्कारमा खटाइएको थियो। शिक्षक, शिक्षिका तथा कर्मचारीहरू पनि सेवाभावपूर्वक सोहीअनुसार परिचालित रहेका देखिन्थे।

२०६४ सालमा काठमाडौंमा स्थापना भएको ढोरेली सेवा समाज काठमाडौंले आफ्नो जन्मथलोप्रतिको दायित्व र समाज विकासका उद्देश्यसहित हरेक वर्ष स्थानीय स्तरमा विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यही निरन्तरतामा यस वर्ष मिति २०८२/०८/१९ मा समाजले समसामयिक विषयलाई समेटेर ढोर क्षेत्रका विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो। कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न समाजका सदस्य तथा शुभेच्छुकहरूको प्रभावकारी परिचालन गरिएको थियो। कार्यक्रमको सुरु देखि अन्त्य सम्म स्थानीय तथा अन्य विद्यालयबाट आएका शिक्षक तथा विद्यार्थीको उल्लेख्य सहभागिताले ढोरेली सेवा समाजको स्थानीय विद्यालय, अभिभावक तथा सम्बद्ध नागरिक समाजसँगको संवाद, समन्वय र सहकार्यको प्रभावकारी रहेको पुस्टि हुन्थ्यो ।

कार्यक्रमका सबै खर्च ढोरेली सेवा समाज काठमाडौंले व्यहोरेको थियो र पारदर्शी रूपमा व्यवस्थापन गरिएको थियो। वक्तृत्वकला प्रतियोगिताका लागि विषयवस्तुको छनोट, कार्यक्रम सञ्चालन, निर्णायक मण्डलको पहिचान तथा समन्वय सबै ढोरेली सेवा समाजले नै गरेको थियो। कार्यक्रम कार्यान्वयनका लागि आवश्यक नगद तथा जिन्सी सहयोग समाजका सदस्य तथा शुभेच्छुकहरूबाट प्राप्त गरिएको थियो। त्यसैगरी, प्रमाणपत्र तथा नगद पुरस्कार समाजबाट स्थापना गरिएको शैक्षिक कोषको ब्याजबाट व्यवस्था गरिएको थियो। काठमाडौंबाट कार्यक्रमस्थलसम्मको यातायात तथा खानाको व्यवस्था सहभागीहरू  स्वयंले व्यहोरेका थिए। तालबेसी माविले सहभागीलाई निमन्त्रणा तथा कार्यक्रम सञ्चालनमा सहयोग प्रदान गरेको थियो।

यसरी, सो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो। ढोरेली सेवा समाजले यो कार्यक्रम सम्पन्न गर्न पर्याप्त गृहकार्य गरेको देखिन्थ्यो। मुख्यत  स्पष्ट उद्देश्य, गर्नुपर्ने कार्यहरूको प्राथमिकीकरण, क्षमता तथा रुचिअनुसार जिम्मेवारीको बाँडफाँड, आर्थिक पारदर्शिता, स्थानीय विद्यालय तथा सरोकारवालासँगको प्रभावकारी समन्वय, समाजका सदस्यबीचको सद्भाव तथा संयुक्त रूपमा काम गर्ने संस्कारका कारणले कार्यक्रम सफल भएको आम बुझाइ रहेको छ।

प्रतियोगितामा सहभागी स्थानीय विद्यालयहरूको सहयोग, तालबेसी विद्यालय प्रशासन तथा नेतृत्वको तत्परता र प्रतिबद्धता, साथै विद्यार्थी तथा अभिभावकको समाज परिवर्तनप्रतिको चाहनाले पनि कार्यक्रम सफल बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको थियो। यसरी, यो कार्यक्रमले समाज परिवर्तनका लागि, स्पष्ट उद्देश्य, आर्थिक पारदर्शिता, समन्वय र सहकार्यको संयोजन अत्यावश्यक छ भन्ने सन्देश दिन सफल भएको छ। ढोरेली सेवा समाजको यस्तै सोच तथा कार्यशैली अन्य संघ–संस्थाले अनुसरण गर्ने हो भने सामाजिक रूपान्तरण सम्भव छ।

यो लेख स्थानिय पत्रिकामा प्रकाशित भएको थियो

Saturday, April 20, 2019

Bettering environmental governance

https://myrepublica.nagariknetwork.com/news/bettering-environmental-governance/

Deliver and Demand: Strengthening Climate Finance Governance in Nepal

https://www.spotlightnepal.com/2026/09/30/deliver-and-demand-strengthening-climate-finance-governance-nepal/ Introduction While addressing...