ढोरेली सेवा समाज, काठमाडौं र तालबेसी माध्यमिक विद्यालय, तनहुँको संयुक्त आयोजनामा सामुदायिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता तथा ढोर क्षेत्रमा अवस्थित सामुदायिक विद्यालयमा एसइई २०८१ मा उत्कृष्ट नतिजा ल्याउने छात्र–छात्रालाई सम्मान गर्ने कार्यक्रम मिति २०८२/०८/१९ गते तालबेसी माविमा सफलतापूर्वक सम्पन्न भयो।
वक्तृत्वकला प्रतियोगितामा शुक्लागण्डकी नगरपालिका अन्तर्गत रहेका ढोर क्षेत्रका सातवटा सामुदायिक विद्यालयबाट छनोट भएका विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगिताका लागि सु-शासन र स्तरीय शिक्षा, अनुशासन, वातावरण र विकास,
संविधानमा समेटिएका शैक्षिक विकासका प्रावधान, प्रविधिमैत्री शिक्षा जस्ता समसामयिक विषयहरू समेटिएका थिए। प्रतियोगी वक्ताहरूले आफ्ना विचारहरू प्रस्तुत गर्दै समाजका सकारात्मक तथा नकारात्मक पक्षहरूलाई यथार्थरूपमा उजागर गरेका थिए। प्रतियोगितामा नागरिक समाज,
पत्रकार, विद्यार्थी, शिक्षक तथा ढोरेली सेवा समाज काठमाडौंका पदाधिकारीसहित करिब ७०० जनाको उपस्थिति रहेको थियो। वक्तृत्वकला प्रतियोगिता बहुआयामिक महत्त्वको रहेको थियो।
प्रतियोगितामा प्रतिस्पर्धी मूल्यांकनका लागि पाँच सदस्यीय निर्णायक मण्डल गठन गरिएको थियो, जसमा शिक्षा क्षेत्रमा योगदान पुर्याएका अनुभवी तथा समाजसेवी व्यक्तित्वहरू समावेश गरिएका थिए। मूल्यांकनका आधारहरू पारदर्शी, स्पष्ट र मापनयोग्य भएकाले प्रतियोगिता निष्पक्ष तथा विवादरहित भएको थियो। समारोहमा शिक्षक तथा विद्यार्थीको प्रभावकारी परिचालनले विद्यालय प्रशासनले प्रतियोगितालाई उच्च प्राथमिकतामा राखेर व्यवस्थित रूपमा सञ्चालन गरेको स्पष्ट देखिन्थ्यो।
समारोह सफल बनाउन विद्यार्थीहरूलाई उनीहरूको सिप, क्षमता तथा रुचिका आधारमा विभिन्न व्यवस्थापकीय जिम्मेवारीमा परिचालित गरिएको थियो । कोही विद्यार्थी खाजा तथा खाना व्यवस्थापनमा, कोही सांस्कृतिक कार्यक्रम प्रस्तुतिको तयारीमा, भने कसैलाई पाहुनाको स्वागत–सत्कारमा खटाइएको थियो। शिक्षक,
शिक्षिका तथा कर्मचारीहरू पनि सेवाभावपूर्वक सोहीअनुसार परिचालित रहेका देखिन्थे।
२०६४ सालमा काठमाडौंमा स्थापना भएको ढोरेली सेवा समाज काठमाडौंले आफ्नो जन्मथलोप्रतिको दायित्व र समाज विकासका उद्देश्यसहित हरेक वर्ष स्थानीय स्तरमा विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यही निरन्तरतामा यस वर्ष मिति २०८२/०८/१९ मा समाजले समसामयिक विषयलाई समेटेर ढोर क्षेत्रका विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो। कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न समाजका सदस्य तथा शुभेच्छुकहरूको प्रभावकारी परिचालन गरिएको थियो। कार्यक्रमको सुरु देखि अन्त्य सम्म स्थानीय तथा अन्य विद्यालयबाट आएका शिक्षक तथा विद्यार्थीको उल्लेख्य सहभागिताले ढोरेली सेवा समाजको स्थानीय विद्यालय,
अभिभावक तथा सम्बद्ध नागरिक समाजसँगको संवाद, समन्वय र सहकार्यको प्रभावकारी रहेको पुस्टि हुन्थ्यो ।
कार्यक्रमका सबै खर्च ढोरेली सेवा समाज काठमाडौंले व्यहोरेको थियो र पारदर्शी रूपमा व्यवस्थापन गरिएको थियो। वक्तृत्वकला प्रतियोगिताका लागि विषयवस्तुको छनोट, कार्यक्रम सञ्चालन, निर्णायक मण्डलको पहिचान तथा समन्वय सबै ढोरेली सेवा समाजले नै गरेको थियो। कार्यक्रम कार्यान्वयनका लागि आवश्यक नगद तथा जिन्सी सहयोग समाजका सदस्य तथा शुभेच्छुकहरूबाट प्राप्त गरिएको थियो। त्यसैगरी, प्रमाणपत्र तथा नगद पुरस्कार समाजबाट स्थापना गरिएको शैक्षिक कोषको ब्याजबाट व्यवस्था गरिएको थियो। काठमाडौंबाट कार्यक्रमस्थलसम्मको यातायात तथा खानाको व्यवस्था सहभागीहरू स्वयंले व्यहोरेका थिए। तालबेसी माविले सहभागीलाई निमन्त्रणा तथा कार्यक्रम सञ्चालनमा सहयोग प्रदान गरेको थियो।
यसरी, सो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो। ढोरेली सेवा समाजले यो कार्यक्रम सम्पन्न गर्न पर्याप्त गृहकार्य गरेको देखिन्थ्यो। मुख्यत स्पष्ट उद्देश्य,
गर्नुपर्ने कार्यहरूको प्राथमिकीकरण, क्षमता तथा रुचिअनुसार जिम्मेवारीको बाँडफाँड, आर्थिक पारदर्शिता,
स्थानीय विद्यालय तथा सरोकारवालासँगको प्रभावकारी समन्वय, समाजका सदस्यबीचको सद्भाव तथा संयुक्त रूपमा काम गर्ने संस्कारका कारणले कार्यक्रम सफल भएको आम बुझाइ रहेको छ।
प्रतियोगितामा सहभागी स्थानीय विद्यालयहरूको सहयोग, तालबेसी विद्यालय प्रशासन तथा नेतृत्वको तत्परता र प्रतिबद्धता,
साथै विद्यार्थी तथा अभिभावकको समाज परिवर्तनप्रतिको चाहनाले पनि कार्यक्रम सफल बनाउन महत्वपूर्ण योगदान पुर्याएको थियो। यसरी, यो कार्यक्रमले समाज परिवर्तनका लागि, स्पष्ट उद्देश्य, आर्थिक पारदर्शिता, समन्वय र सहकार्यको संयोजन अत्यावश्यक छ भन्ने सन्देश दिन सफल भएको छ। ढोरेली सेवा समाजको यस्तै सोच तथा कार्यशैली अन्य संघ–संस्थाले अनुसरण गर्ने हो भने सामाजिक रूपान्तरण सम्भव छ।
यो लेख स्थानिय पत्रिकामा प्रकाशित भएको थियो
No comments:
Post a Comment