एकराज सिग्देल
शुक्लागण्डकी नगरपालिकाको ढोरक्षेत्रमा फलाम तथा तामाखानी उत्खानन सम्भावनाका संबन्धमा नेपाल सरकारका सचिब श्री राजकुमार श्रेष्ठको अध्यक्षतामा प्रधानमन्त्री कार्यालयमा मिति २०८२/०५/२३ गतेका दिन बैठक सम्पन्न भयो । सो बैठकमा खानी तथा भूगर्भ विभाग र उद्योग विभागका महानिर्देशक (डीजी), लगाएत सरकारी उच्च पदस्थ कर्मचारीहरुको सहभागीता रहेको थियो। सो दिनको बैठकको समन्वय, नेपाल सरकारका उपसचिव तथा ढोरेली सेवा समाज काठमान्डौका सदस्य राजन भट्टराईले गर्नुभएको थियो।
ढोरेली सेवा समाज काठमाडौँको तर्फबाट तारा राउत,
मधु सुदन सिग्देल, धर्म अर्याल, युबराज थापा र एकराज सिग्देल सहभागी हुनु भएको थियो। बैठकको प्रारम्भमा उपसचिव राजन भट्टराईले सो कार्यक्रमको उद्देश्य र ढोरेली सेवा समाज काठमान्डौको अपेक्षाका बारेमा जानकारी दिनुभएको थियो ।
त्यसैगरी एकराज सिग्देलले शुक्लागण्डकी नगरपालिकाले आफ्ना बार्षिक नीतिहरूमा फलाम तथा तामा खानीलाई सम्भावित आम्दानीको स्रोतको रूपमा पहिचान गरेको, तत्कालिन प्रधानमन्त्रीले मिनामकोटलाई फलाम खानीको सम्भावित स्थानका रूपमा घोषणा गर्नुभएको, खानी तथा भूगर्भ विभागद्वारा सन् २०१९ सेप्टेम्बरमा र कबिराज पौडेलद्वारा सन् २०२३ मा गरिएका अनुसन्धान साथै मिनामकोटबाट उत्खनन गरिएको फलाम प्रयोग गरी भीमाद नगरपालिकामा अन्तर्गतको सेती नदीमा झोलुङ्गे पुल निर्माण गरिएको ऐतिहासिक तथ्यसमेत उल्लेख गर्दै, विस्तृत अध्ययन आवश्यकता रहेको औंल्याउनुभयो।
यहाँनिर उल्लेख गर्नुपर्ने सन्दर्भ के छ भने, सन् १९८३ मा ढोर मिनामकोट तथा वरपरको क्षेत्रमा फलाम तथा तामा खानीको सम्भावना संबन्धि अध्ययन भइसकेको तथ्य बिभिन्न पत्रपत्रिकामा उल्लेखित छ । उक्त अध्ययनहरुले मिनामकोट, खोरादी र भक्कल क्षेत्रलाई तामा खानीको सम्भावित क्षेत्रको रूपमा पहिचान गरेको पाइन्छ र मिनामकोट क्षेत्रमा ०.२५%
देखि १.४%
सम्म तामा रहेको तथ्य उजागर गरेको छ । खानी तथा भू-गर्भ विभागका विज्ञहरूको टोलीले सन् २०१९ मा मिनामकोट, लोकतेटार, खोरादी र आसपासका क्षेत्रमा फलाम र तामाको खानी उत्खननको सम्भावनाका बारेमा अन्वेषण गरेका थिए। विभागबाट खटिएका विज्ञहरुले स्थानीय जानकारहरुसँगको परामर्श तथा स्थलगत निरीक्षणका आधारमा, भक्कल क्षेत्रमा फलाम खानि हुन सक्ने सम्भावना उजागर गरेका थिए । सो बमोजिम अध्ययन गर्दा उक्त स्थानमा २१% देखि ३५% फलाम रहेको पाइएको अध्ययन प्रतिबेदनमा उल्लेख छ । त्यसैगरी, सो हि अध्ययनले ढोरको बसुवा क्षेत्रमा ०.०१%
देखि २.९%
सम्म तामा रहेको प्रक्षेपण गरेको छ, जुन अत्यन्त न्युन हो । यसरी फलाम तथा तामा दुवैको मात्रा अत्यन्त न्युन हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै, सो अध्ययनले थप अनुसन्धान गर्नको लागि सिफारिस गरेन। यी सबै अध्ययनहरूलाई एकसाथ राखेर हेर्दा, यी क्षेत्रहरूमा फलाम वा तामाको भण्डार रहने सम्भावना निकै न्यून देखिन्छ।
यी माथि उल्लेखित तथ्यहरुलाई पुस्ट्याईहुने विवरण खानी तथा भूग-र्भ विभागका महानिर्देशक दिनेश नापितले उक्त बैठकमा प्रस्तुत गर्नु भएको थियो । उहाँका अनुसार विभिन्न समयमा विभिन्न निकायहरूद्वारा सो स्थानमा अध्ययन भैसकेको छ । खानी तथा भू-गर्भ विभाग र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) दुवैले उक्त स्थान फलाम र तामाको उत्खननका लागि उपयुक्त नभएको निष्कर्ष निकालेको बताउनु भयो ।
उक्त क्षेत्रमा खानि अध्ययन र उत्खननको लागि निजि ब्यबसायीलाई लाइसन्स दिइएको भएता पनि सो कम्पनीले हालसम्म उत्खनन कार्य प्रारम्भ नगरेकोबाट पनि के प्रस्ट हुन्छ भने, सो क्षेत्रमा फलाम तथा तामाको मात्रा अत्यन्त न्यून छ भन्ने भनाई खानि तथा भू-गर्भ विभागका महानिर्देशकको रहेको थियो । उहाका अनुसार UNDP को अध्ययन प्रतिबेदनले उक्त स्थानमा करिब १००० ppm तामाको मात्रा रहेको उल्लेख गरेको छ, जुन अत्यन्त न्यून हो । भौगोलिक अध्ययन, नक्साङ्कन, प्रयोगशाला परीक्षण र भौगर्भिक बनावटको आधारमा उक्त क्षेत्र प्राविधिक दृष्टिले खानी उत्खननका लागि उपयुक्त नभएको तथ्य माहानिर्देशक नापितले प्रस्तुत गर्नु भएको थियो । तथापि, अन्य स्थलहरूमा सम्भावना देखिएमा विभागले थप अध्ययन गराउन सक्ने भनाई माहानिर्देशक नापितले राख्नु भएको थियो ।
तत्कालिन प्रधानमन्त्रीले मिनामकोट क्षेत्रमा फलाम खानी रहेको भन्ने सार्वजनिक अभिव्यक्ति दिनु भएको सन्दर्भमा, समाजका सदश्य राजन भट्टराईको सुझावअनुसार ढोरेली सेवा समाज काठमाडौँको तर्फबाट महासचिब धर्म अर्यालले प्रधानमन्त्री कार्यालयमा केहि दिन अगाडी औपचारिक अध्ययनको लागि अनुरोध पत्र दर्ता गराउनु भएको थियो। सो अनुरोध पत्रको आधारमा मिति २०८२/०५/२३ गतेका दिन ढोरेली सेवा समाज काठमाडौँको समेत प्रतिनिधित्व हुने गरि बैठकको आयोजना गरिएको थियो ।
यो लेख स्थानिय पत्रिकामा प्रकाशित भएको थियो
No comments:
Post a Comment