Pages

Wednesday, March 11, 2026

सम्वृद्धिको आधार ढोरबाराही

 

 एकराज सिग्देल

बिषय प्रवेश

प्राकृतिक सुन्दरता एबं धार्मिक महत्वको ढोर बराह मन्दिर पर्यटकीय दृष्टिकोणबाट आर्कषक एवं रमणीय क्षेत्रको रुपमा परिचित ढोर बराहको धार्मिक, सामाजिक, साँस्कृतिक, प्राकृतिक तथा पर्यटकीय महिमा यस क्षेत्रको समग्र बिकासको लागि बलियो आधार स्तम्भ हुन् यिनै विशेषताको जगमा ढोर क्षेत्रको समग्र बिकासमा टेवा पुर्याउने ध्ययले सन् २००० मा ढोर बाराहलाई समेत समेटी मिलेनियम ट्रेकको परिकल्पना अगाडी सारियो। नेपाल सरकारको धार्मिक पर्यटनको माध्यमबाट गरिबी निवारकरण गर्ने नीतिहरुलाई समन्वयात्मक रुपमा कार्यान्वयन गरेको खण्डमा यसबाट ढोरबराह क्षेत्रको समग्र बिकास हुने निश्चित छ र यसमा ढोरेली सेवा सामाजको सहजीकरण र समन्वययीकारी भूमिका निर्णायक देखिन्छ ।

 

 मिलेनियम ट्रेक

सन् २००० मा तत्कालिन ढोरफिर्दी गाँउ विकास समिति देखि स्याङ्जा जिल्लाको मझकोट गा.वि.स.लाई समेट्ने गरी एक पर्यटन पथको अवधारणा अगाडि सारी त्यसको नाम मिलेनियम पर्यटन पथ (Millennium Trek) राखिएको थियो । झन्डै ८० कि. मि लामो यस पर्यटन पथले तनहूँको तत्कालिन ढोरफिर्दी, राईपुर तथा फिरफिरेका साथै स्याङ्जा जिल्लाका कोल्माबराहचौर, राङ्गभाङ्ग, पेल्काचौर, बानेथोक देउराली, मझकोट शिवालय र मनकामना गा.वि.स. लाई समेटको छ । पृथ्वीराजमार्गको दुलेगौडागाछेपानी खण्डबाट शुरु भएको यो ट्रेकिंग रुट ढोर क्षेत्रको सेतीनदीको किनारमा अवस्थित Rock garden, ढोरबाराही मन्दिर, मुलकोट, मिलेनियम गुफा, विसौना हुदै स्याङ्जा जिल्लाको तत्कालिन मनकामना गा.वि.स. पुगेर समाप्त हुन्छ । मिलेनियम पर्यटन पथको कुल लम्बाई मध्ये ढोर क्षेत्रमा करिब १५ कि. मि पदर्छ ।

 

 ढोरबाराही मन्दिर

ढोरबाराही तनहूँ जिल्लाको एक महत्वपूर्ण धार्मिक स्थलको रुपमा परिचित छ । स्कन्धपुराणको हिमवत् खण्डको परिशिष्ट भागको गण्डकी महात्म्यको अध्याय पाँचमा श्लोक २२ देखी ३० सम्म यो धार्मिक स्थलको बयान गरेको पाइएबाट मन्दिर निकै पुरानो भएको कुरा प्रस्ट हुन्छ । मन्दिरको जिर्णोद्घार गर्ने क्रममा भेटिएको घण्टाहरुमध्ये एउटामा नेवारी भाषामा नेपाल सम्बत ९६७ लेखिएको पाईनुले पनि यो मन्दिर निकै पुरानो भएको पुष्टि हुन्छा । नवदुर्गा (विजयदशमी), श्रीपञ्चमी तथा चैतेअष्टमीको बेलामा दर्शनार्थीहरुको अत्याधिक भिड लाग्ने यो मन्दिरको सबैभन्दा आश्चर्यजनक,रहस्यमय एवं आर्कषक पक्ष भनेकोे मन्दिरसंगै जोडीएको पहराबाट बिशिस्ठ प्रकारको मूल फुट्नु हो । पहराको खोंच(अक्कर)मा रहेको उक्त मुहानबाट अघिपछि सामान्य पानी आउने तर झण्डै ३०३० मिनेटको अन्तरमा गुडगुड आवाज सहित करिब ५ मिनेट सम्म पानीको ठूलो मुस्लो आउनु हो, जसलाई स्थानिय भाषामा ‘लहरी छुटेको वा ‘लहरी छुट्नु भन्ने गरिन्छ । यसरी पहराको खोचबाट झण्डै आधा घण्टाको अन्तरमा त्यति ठूलो पानी कहाँ बाट कसरी आयो, सबैको लागि आश्चर्य एवं रहस्यको बिषय बनेको छ । यसैगरी मन्दिरको वरिपरि चारैतिर ठुलाठुला रुखहरु रहेको तथा लहराहरु यत्रतत्र तोरन टाँगेझै फैलिएको भएता पनि कुण्ड (पोखरी) मा एउटा पनि पात नखस्नु वा नपर्नु यस मन्दिरको अर्को बिषेशता हो । त्यसो हुनु बाराही देवीको शतिले हो भन्ने विश्वास रहेको छ । ढोरवाराही देवीको अपार शक्तिका कारणले देवीको भाकल गर्ने र मनोकामना पूरा भएपछि देवीको दर्शन गर्ने परम्परा रही आएको छ ।

       

 पर्यटन प्रबर्धनमा  ढोरेली सेवा सामाजको भूमिका

समग्र ढोर क्षेत्रको बिकासमा टेवापुग्ने हिसाबले, ढोरेली सेवा समाजले बिगतमा विभिन्न ढोर बराह केन्द्रित बिभिन्न पर्यटन बिकासका गतिविधिहरु गर्दै आएको छ ।  जसमध्यका प्रमुख क्रियाकलापहरुमा; 1) हाल सम्म प्रकाशित तिनवटै ढोर स्मारिका अंकको बाहिरी कभर पेजमा ढोर बाराहीको आकर्षक तस्बिर राखिनुका साथै पर्यटन बिकास तथा प्रबर्धन संबन्धि लेखहरु समेटिएको छ, 2) ढोरेली सेवा समाज द्वारा प्रकाशन हुने वार्षिक क्यालेन्डरको बाहिरी कभर पेजमा ढोर बाराहीको आकर्षक तस्बिर राख्ने गरिएको छ, 3) २०६८ सालमा ढोरबाराही मन्दिर पुग्ने बाटोको जानकारी सहितको होर्डिंग बोर्ड गाछेपानीमा राखिएको थियो, 4) मिलेनियम ट्रेक प्रबर्द्धनात्मक ब्रोशरको प्रकाशन गरिएको छ, 5) २०७१ चैत्र २१ गतेका दिन नेपाल पर्यटन बोर्डको समेत सहयोगमा काठमान्डौकेन्द्रित पर्यटन बिकास सेमिनार आयोजना गरिएको थियो, 6) २०७२ श्रावण २९ का दिन नेपाल पर्यटन बोर्ड संगको सहकार्यमा नेपाल पर्यटन बोर्डको सेमिनार हलमा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको थियो, 7) ढोर बाराही विकास रणनैतिक योजना (२०७६/२०७७ -२०८०/२०८१) - शुक्लागण्डकी नगरपालिकाको समेत सहयोगमा सहभागितामूलक पद्दतिबाट ढोर बाराही विकास रणनैतिक योजना (२०७६/२९७७ -२०८०/२०८१) को तयार पारिएको र यसको तयारीको क्रममा ढोरबाराही परिसरमा २०७५ सालको श्रीपंचमी र काठमान्डूमा २०७५/०९/२१ गते बृहत अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको थियो, र 8) ढोर बाराही मन्दिरको पर्यटकीय महत्वलाई प्रबर्धन गर्ने सिलसिलामा आज मिति १८ असोज २०८१, शुक्रवारका दिन ढोरबराह क्षेत्र परिसरमा माननीय मन्त्रि श्री बद्रि प्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भयो कार्यक्रमको आयोजना शुक्लागण्डकी नगरपालिकाले गरेको थियो भने समन्यवको भूमिका ढोरेली सेवा समाज काठमान्डूले गरेको थियो

 

ढोरेली सेवा समाजको आगामि गतिबिधि

ढोरेली सेवा समाजको मूल्य र मान्यता खासगरी पारदर्शिता, समन्वय र सहकार्यको जगमा ढोरबाराही विकास रणनीतिक योजना तथा सरकारका निम्नानुसार ढोरबाराहीसंग सान्दर्भिक पर्यटन नीति तथा कार्यक्रमहरुलाई   कार्यान्वयन सहजीकरण तथा समन्वयको भूमिका निर्बाह गर्नु हुने छ। सुखी नेपाली सम्बृद्ध नेपालको सपना साकार पार्ने ध्ययले सबै सरकारहरुले पर्यटन बिकास र  प्रबर्धनलाई नीतिगत तथा कार्यक्रम तहबाट प्राथमिकतामा राखेका छन् । पर्यटन नीति, २०६५ मा  पदयात्रा पर्यटनलाई प्राथमिकतामा राखी प्रबर्धन गर्ने तथा धार्मिक तथा सांस्कृतिक पर्यटकीय दृष्टिले महत्वपूर्णको स्थलको पहिचान गरि धार्मिक पर्यटनको बिकास गर्ने भन्ने उल्लेख छ। त्यसैगरी नेपाल सरकारको सोह्रौं पंचबर्षिय योजनामा एक जिल्ला न्युनतम एक पर्यटकीय गन्तब्य र एक स्थानीय तह बहु पर्यटन गाउँ प्रबर्धन गर्ने सोच रहेको छ । गण्डकी प्रदेशको दोश्रो पन्च बर्षिय योजनामा पर्यटन क्षेत्रबाट आम्दानि बढाउनको लागि प्राकृतिक,सांस्कृतिक, साहसिक तथा कृषी पर्यटनलाई एकीकृत रुपमा बिकास गर्ने रणनीति अबलम्बन गरिने छ भन्ने उल्लेख गरिएको छ । शुक्लागण्डकी नगरपाललकाको आ.व. २०८१/०८२ को नीति तथा कार्यक्रममा शुक्ला गण्डकी नगरपालिले संघीय र प्रदेश सरकारसंगको समन्वयमा नगरपालिका भित्रका पर्यटकीय स्थलको पहिचान, संरक्षण, बिकास, र प्रबर्धन गर्ने कुरालाई समेटिएको छ ।

 

अपेक्षा तथा प्रतिबद्धता

ढोरबाराही क्षेत्रमा दिगो पर्यटन प्रबर्धन तथा बिकास गरि यस क्षेत्रको सम्बृद्धिमा टेवा पुर्याउनको लागि सरकार तथा संघ संस्थाहरुले बिभिन्न क्रियाकलापहरु गर्नुपर्दछ ।  ढोर बाराही ब्यबस्थापन समितिले ढोर बाराही विकास रणनैतिक योजना बमोजिम कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्नु पर्दछ। शुक्ला गण्डकी नगरपालिकाले आफ्नो बार्षिक कार्यक्रममा ढोरबराहिमा धार्मिक पर्यटन प्रबर्धन गर्ने कार्यक्रम तथा आबश्यक रकम बिनियोजन गर्नु पर्दछ, ढोर बराहिबाट प्राप्त हुने आम्दानीको निश्चित हिस्सा सोहि क्षेत्रको प्रबर्धनमा लगानी गर्नु पर्दछ र ढोर बाराही ब्यबस्थापन समितिलाई कार्यक्रम कार्यान्वयनगर्नको लागि आबश्यक नीतिगत व्यवस्था तथा संस्थागत क्षमता वृद्धि गर्न सघाउनु पर्दछ।  प्रदेश सरकारले प्रदेशका प्रमुख पदमार्गको सुचिमा मिलेनियम ट्रेकलाई राखी यसको एकीकृत बिकासमा लगानी गर्नु पर्दछ । नेपाल पर्यटन बोर्डले ढोर बाराही मन्दिरलाई धार्मिक पर्यटन गन्तव्य स्थलको सुचिमा समाबेस गरि प्रबर्धन र बजारीकरणमा सहयोग गर्नु पर्दछ । संघीय सरकारले तिनै तहका सरकारका धार्मिक पर्यटन संबन्धि नीति हरुलाई आबश्यक समन्वय गर्नु पर्दछ।  ढोरेली समाज काठमान्डौले ढोरबाराही क्षेत्रमा दिगो धार्मिक पर्यटनको बिकासको लागि सबै तहका सरकार संग समन्वय, रणनीति कार्यान्वयनको लागि आबश्यक श्रोत परिचालन, र पारदर्शिताको मूल मर्मलाई केन्द्रमा राखी सहभागितामुलक पद्दतिबाट रणनीति कार्यान्वयन गर्न प्राबिधिक सहयोग जुटाउन सहजीकरण गर्नुपर्दछ ।ढोर बराह मन्दिरको बहु आयामिक महत्वलाई उजागार गर्दै पर्यटनको प्रबर्धन तथा बिकास गरेको खण्डमा यसबाट स्थानीयको सामाजिक तथा आर्थिक उन्नयनमा योगदान पुग्ने निश्चित छ । सरकारको पर्यटन नीतिहरुलाई संबन्धित सरोकारवालाहरुले समन्वयकारी ढंगले कार्यान्वयन गरेको खण्डमा मात्रै पनि यस क्षेत्रको बिकासले गति लिन सक्दछ 

यो लेख स्थानिय पत्रिकामा प्रकाशित भएको थियो

No comments:

Post a Comment

शुक्लागण्डकीको संब्रिध्धीको आधार: नदिजन्य पदार्थको ब्यबस्थापनमा सुधार

  एकराज सिग्देल पृष्ठभूमि ढुंगा गिट्टी वालुवा शुक्ला गण्डकी नगरपालिकाको संब्रिध्धीको लागि एउटा बलियो आधार हो | यसको उत्ख...