Pages

Friday, March 13, 2026

ढोरबाराही क्षेत्रमा योजनाबद्ध विकास प्रारम्भ

एकराज सिग्देल

ढोरेली सेवा समाज काठमान्डौ द्वारा तयार पारिएको ढोरबाराही विकास रणनीतीक योजना (आ.व. २०७६/७७ - आ.व. २०८०/८१) हालै शुक्लागण्डकी नगरपालिकालाई हस्तान्तरण गरि योजनाबद्ध विकासको सुरुवात भएको छ । ढोर क्षेत्रमा जन्म भै एबं बाल्यकाल बिताई हाल देश तथा विदेशलाई कर्मस्थल बनाइ वातावरण, सु-शासन, इन्जिनीरिंग, सामाजिक, आर्थिक, लैंगिक र स्थानीय बिकासका विषयमा विज्ञता हासिल गर्नुभएका विज्ञ समुहद्वारा स्वयंसेवी भावनाबाट प्रेरित भई ढोरेली सेवा समाज काठमान्डौको तत्वावधानमा सहभागितामूलक पद्दति अबलम्बन गरि तयार पारिएको यो दस्ताबेज ढोर क्षेत्रको बिकासको लागी निकै नै सहयोगी हुने अपेक्षा गरिएको छ ।

 तनहूँ जिल्लाको साविक ढोरफिर्दी, फिरफिरे र राईपुर गा.वि.स (जसलाई ढोर क्षेत्र भन्ने गरिन्छ) बाट काठमाडौं आई बसोबास गर्ने ढोरेलीहरू बीच एक आपसमा सहयोग, सद्भाव र समन्वयको माध्यमबाट ढोर क्षेत्रको सामाजिक, सांस्कृतिक, आर्थिक, स्वास्थ्य, शैक्षिक तथा वातावरणीय पक्षको एकीकृत विकासमा सहयोग गर्ने उद्देश्यका साथ वि.स २०६४ सालमा ढोरेली सेवा समाज काठमाडौंको स्थापना गरिएको हो । यस संस्थाले स्थापनाकालदेखि नै काठमान्डौ तथा ढोर क्षेत्रमा विभिन्न सेवामूलक,

चेतनामूलक एवं विकासका गतिविधिहरु संचालन गर्दै आएको छ । ढोर क्षेत्रको विकासमा टेवा पुगोस् भन्ने उदेश्यले यो संस्थाद्वारा निर्मित ढोर स्मारिकाका दुई अंकहरु र ढोर विकास अबधारणाको दस्ताबेज यस अगाडी नै प्रकासित भै सकेका छन् । ढोरेली सेवा समाजद्वारा तयार पारिएको यो ढोर बाराही विकास रणनीतिक योजना ढोर क्षेत्रको विकासको लागि तेस्रो महत्वपूर्ण दस्ताबेज हो ।

 गण्डकी प्रदेश, तनहुँ जिल्ला, शुक्लागण्डकी नगरपालिका वडा नं ९ मा ढोरवाराही मन्दिर अवस्थित छ । यो मन्दिरको सबैभन्दा आश्चर्यजनक, रहश्यमय आकर्षक शक्ति भनेको मुख्यत: यहाँ चल्ने नियमित लहरी हो । हिन्दुहरुको प्रमुख चाडहरु एबं महत्वपूर्ण अवसरहरु जस्तै; नयाँबर्षको शुभारम्भका दिन, बडादशैँ, नवदुर्गा अवधिभर, चैतेदशैँ, श्रीपञ्चमी, बैशाख पूर्णिमा र गुरु पूर्णीमाका दिन विशेष पूजा अर्चनाका लागि दर्शनार्थीको अत्याधिक भिड लाग्ने गर्दछ । भक्तालुहरुले खास गरि बालबालीकाले बोल्न सकुन, सन्तान प्राप्ति होस्, पेशा व्यवसायमा सफलता मिलोस, मनले चिताएका कार्यहरु सिद्दी होस्, प्राकृतिक तथा दैवी प्रकोप नपरोस भने जस्ता मनोकांक्षा राखेर बाराहीदेबीको भाकल गर्ने र मनोकामना पूरा भएपछी मन्दिर परिसरमा गच्छेअनुसार परेवाको जोडी उडाएर, स-साना पाठापाठीको बली दिएर वा नरिवल अक्षता चढाएर पूजा गर्ने प्रचलन छ । निकै प्राचीन मानिने यस मन्दिरमा स्थानीय पूजारीहरुबाट वि.सं.२०२९ सालदेखि नियमित रुपमा पूजा हुँदै आएको छ ।

 ढोरबाराही मन्दिर क्षेत्र भौगोलिक रुपले सुगम, धार्मिक एबं ऐतिहासिक दृष्टिकोणबाट महत्वपूर्ण,र प्राकृतिक स्रोत साधनका दृस्टीकोणबाट संपन्न भएर पनि विकासको दृष्टिकोणले पछाडि परेको छ । ढोरबाराहीको धार्मिक महिमा अपार हुँदाहुँदै पनि यसको पर्यटकीय महत्वको बारेमा यथेस्ट अध्ययन अनुसन्धान, प्रचारप्रसार तथा प्रबर्धन गर्ने कार्य हालसम्म पनि संस्थागत रुपमा हुन सकेको छैन । बाराही मन्दिरको इतिहास तथा मूल्य र मान्यताहरुलाई लिपिबद्ध गरिएको छैन, पर्यटकको बसाइलाई लम्ब्याउने खालका गतिबिधिहरु प्रभावकारी रुपमा अगाडि बढ्न सकेका छैनन् र पर्यटनबाट स्थानीयस्तरमा अर्थोपार्जन हुने खालका क्रियाकलापहरुको तर्जुमा एबं कार्यान्वयन हुन समेत सकेका छैनन् । यस क्षेत्रमा रहेका प्राकृतिक संम्पदाको समेत यथेस्ट मात्रामा उजागार हुन सकेको छैन ।

यसै कुराको जगमा रही आगामी १० बर्ष भित्र ढोरबाराही क्षेत्र नेपालको एक प्रसिद्ध धार्मिक, ऐतिहासिक, सुरक्षित र दिगो पर्यटकीय गन्तब्यको रुपमा स्थापित गर्ने दुरदृस्टिका साथ तयार पारिएको यो योजनाको लक्ष्य ढोरबाराही क्षेत्रको सम्बृद्ध धार्मिक, सांस्कृतिक एबं प्राकृतिक स्रोतहरुको संरक्षण र दिगो उपयोगको सुनिस्चितता गर्दै धार्मिक एबं पर्या-पर्यटनको विकासको माध्यमबाट स्थानीय समूदायको सामाजिक एबं आर्थिक विकासमा टेवा पुर्याउनु रहेको छ । यो लक्ष प्राप्तिको लागि विभिन्न ६ वटा उदेश्यहरु पुरा गर्नुपर्ने हुन्छ । यी उदेश्यहरुमा क) ढोरबाराही क्षेत्रमा विद्यमान प्राकृतिक स्रोतहरुको संरक्षण, ब्यवस्थापन र दिगो उपयोग गर्नु, ख) यस क्षेत्रमा रहेका धार्मिक-सांस्कृतिक महत्वका वस्तु एबं सेवाहरुको संरक्षण गर्नु, ग) पर्यटकीय मागअनुसारका सेवा तथा वस्तुहरुको उत्पादनमा वृद्धि गरी स्थानीय जनताको जिबिको पार्जनमा सहयोग पुर्याउनु, घ) यस क्षेत्रमा उत्सर्जित फोहर मैलाको समुचित ब्यवस्थापन गर्नु, ङ) वातावरणमैत्री पूर्बाधार निर्माणको अवधारणा अनुसार विकास गर्नु, र च) मन्दिर ब्यवस्थापनमा सुशासन कायम गर्नु पर्ने कुराहरु समेटिएका छन् ।

बिभिन्न धार्मिक, सांस्कृतिक चाडपर्वहरु एबं शनिवारको दिनमा गरेर वार्षिक अन्दाजी ६०,००० भक्तालुहरु मन्दिरको पूजा तथा दर्शनको लागि आउँदछन् । यो संख्यालाई आगामी ५ बर्षमा कम्तिमा ५ गुणा बढाउन सकिन्छ, जसबाट स्थानीय अर्थतन्त्रमा उल्लेख्य रुपमा योगदान पुर्याउनुका साथै यस क्षेत्रको धार्मिक एबं जैविक महत्वलाई कायम राख्न सकिन्छ भन्ने अवधारणामा यो योजना बनाइएको छ । जलाधारमा आधारित एकीकृत विकास योजना, मन्दिर वरपर खासगरी माथिल्लो तटीय क्षेत्रमा बिनायोजनाका गह्रौं उपकरणमा आधारित ग्रामीण सडकलाई निरुत्साहन एबं जंगल र पोखरीहरुको संरक्षण, स्थानिय उत्पादन एबं प्रांगारिक मलमा आधारित खेति प्रणाली, वातावरणमैत्री तथा जलबायु उत्थान्शील विकासका क्रियाकलापहरु, सहश्राब्दि पथलाई बदलिदो परिस्तिथिको कारण पुनरावलोकन गर्नुपर्ने आबश्यकता, जमिनको बनावट एबं भू-उपयोग क्षमताको आधारमा योजनाबध्ध विकास, र आन्तरिक एबं कृषि पर्यटनको प्रबर्धनमा जोड दिनुपर्ने जस्ता विषय यो अवाधाराणामा समेटिएका छन्

उपलब्ध समय, श्रोत र साधनको अधिकतम उपयोग गर्दै शुक्लागण्डकी नगरपालिकाको समेत सहभागितामा यो योजना बनाइएको छ । ढोरबाराही क्षेत्रमा स्थलगत अध्ययन भ्रमण, अन्तरक्रिया र काठमान्डौमा रहेका ढोरेलीबाट काठमान्डौमा आयोजित कार्यशाला गोष्ठीहरुमा प्राप्त सुझाबका आधारमा यो पन्चबर्षिय रणनैतिक योजना तयार भएको हो । यसरी स्थलगत अध्ययन एबं संबन्धित सरोकारवालाहरुसंगको अन्तरक्रियाबाट तयार पारिएको रणनीतिक योजनालाई कार्यान्वयन गरेको खण्डमा ढोरबाराही क्षेत्र साँच्चीकै व्यबस्थित र सुबिधा संपन्न धार्मिक एबं पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिन्छ । त्यस क्षेत्रका मानिसहरुको सामाजिक, आर्थिक अवस्थामा परिवर्तन आउन सक्दछ ।

प्राकृतिक स्रोतको व्यवस्थापन, धार्मिक एबं सांस्कृतिक संम्पदाको संरक्षण, सामाजिक-आर्थिक उन्नति, पूर्वाधार विकास, फोहरमैला ब्यबस्थापन, पर्यटन विकास र सुशासन एबं संस्थागत विकास जस्ता विषयगत रुपमा रहेका बिध्यमान अवस्था, चुनौतिहरुको विश्लेषण गर्दै तत् क्षेत्रका रणनीति तथा कार्यनीतिहरु प्रस्तुत गरिएको छ । यस किसिमबाट ढोरबाराही क्षेत्रको योजनाबद्ध विकासको सुरुवात भएको छ । ढोरबाराहीको गुरुयोजना बनाउने उद्देश्य राखेर अध्ययन प्रक्रिया अगाडी बढाइएको भएता पनि अत्याबश्यक सुचना र समयको अभाबमा अहिलेलाई यो रणनैतिक योजना मात्रै बनाइएको छ । भविष्यमा यसको आधारमा बृहत गुरुयोजना बनाउन बाञ्छनिय हुने छ।

२०७६ सालमा स्थानीय पत्रिकामा प्रकासित लेख

No comments:

Post a Comment

शुक्लागण्डकी बिकास अवधारणा

  एकराज सिग्देल शुक्लागण्डकीको उज्जल भविष्यको लागी दिगो बिकासमा आधारित अबधारणा अबलम्बन गर्नु पर्दछ ।   नगरपालिकाको भू-अवस्थिति, भू-बनोट, ज...