Pages

Saturday, March 28, 2026

प्राकृतिक स्रोतमा आधारित समाधान: किसानहरूको बढ्दो आकर्षण

 एकराज सिग्देल 

प्राकृतिक स्रोतमा आधारित समाधानका उपायहरू (Nature-Based Solutions) अवलम्बन गरेको खण्डमा न्यून लगानीमा बढी प्रतिफल प्राप्त हुने, कार्यक्रमको दिगोपना सुनिश्चित हुने, जलवायु परिवर्तनजन्य प्रभाव न्यूनीकरण तथा अनुकूलन गर्न सहज हुने जैविक विविधताको संरक्षणमा टेवा पुग्ने भएकाले नेपालमा यसप्रति किसानहरूको आकर्षण बढ्दै गएको छ। नवलपरासी जिल्लाको हुप्सेकोट गाउँपालिकाअन्तर्गत गिन्द्री जलाधार क्षेत्रभित्र पर्ने जोल्तेपोखरी बस्तीका बासिन्दाहरूले प्राकृतिक स्रोतमा आधारित जीविकोपार्जन, जलाधार तथा जैविक विविधता संरक्षणका साथै जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनमा सहयोग पुग्ने उदाहरणीय कार्यहरू गरेका छन्।

जोल्तेपोखरी सामुदायिक वनका उपभोक्ताहरूका अनुसार डब्लुडब्लुएफ तथा सहमति संस्थाको प्राविधिक एवं आर्थिक सहयोगमा उपभोक्ताहरूले जलाधार संरक्षण, पानीका मुहान संरक्षण, पोखरी संरक्षण तथा जैविक मलमा आधारित कृषि प्रणालीको अवलम्बन लगायत प्राकृतिक स्रोतमा आधारित समाधानका विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएका छन्। हुप्सेकोट तथा कावासोती नगरपालिका हुँदै बग्ने कान्द्रा नदीको गिन्द्री जलाधार क्षेत्रमा अवस्थित जोल्तेपोखरी सामुदायिक वनमा उपभोक्ताहरूले विगत दुई वर्षमा १२ वटा पोखरी निर्माण गरेका छन्। यी मानव निर्मित पोखरीहरूका कारण तल्लो तटीय क्षेत्रमा पानी पुनर्भरण भई दुईवटा नयाँ मूलहरू समेत फुटेका छन्। साथै, पोखरीहरू निर्माणपछि उक्त क्षेत्र वरपर चितुवा, बदेल, मृग विभिन्न प्रजातिका चराहरू पहिलेभन्दा बढी संख्यामा देखिन थालेका छन्। यी नयाँ मूलहरूबाट उत्पन्न भएको पानीलाई नजिकैको मानव निर्मित ट्यांकीमा सङ्कलन गरी पाइपमार्फत किसानहरूको खेतबारीमा सिँचाइ सुविधाको प्रबन्ध गरिएको छ। हाल जोल्तेपोखरीका घरधुरीले नयाँ उत्पत्ति भएका मूलको पानी प्रयोग गरी करेसाबारीमा गोलभेंडा, काक्रा, सिमी तथा सागसब्जी उत्पादन गर्दै आएका छन्।

स्थानी]य बेलबहादुर मश्रांगीले जोल्तेपोखरी सामुदायिक वन नजिकै आफ्नो निजी जमिनमा समेत तीनवटा माछा पोखरी व्यवस्थापन गरेका छन्। मश्रांगीका अनुसार विगत वर्षदेखि माछापालन सुरु गरे पनि आवश्यक प्राविधिक ज्ञानको अभावका कारण अपेक्षित उत्पादन हुन सकेको थिएन उहाँमा एक किसिमको नैराश्यता आएको थियो। सोही समयमा सहमति संस्थाबाट प्राविधिक सल्लाह प्राप्त गर्ने अवसर मिल्यो, जसका कारण उहाँमा माछापालन व्यवसायलाई निरन्तरता दिने आशा पलायो। हाल उहाँले माछापालन व्यवसायलाई निरन्तरता दिनुभएको छ। गएको सिजनमा मात्रै रु. एक लाखभन्दा बढी मुनाफा लिन सफल हुनुभयो। उहाँका अनुसार पोखरी व्यवस्थापनका कारण स्थानीय वातावरणमा चिसोपन बढेको महसुस गरिएको , वन्यजन्तुको संख्यामा वृद्धि भएको , छिमेकी १० घरधुरीमा पोखरीको पानीबाट मकै खेतीका लागि सिँचाइ सुविधा उपलब्ध गराइएको छ। आगामी वर्ष माछापालनबाट हुने आम्दानीमध्ये करिब १० हजार रुपैयाँ स्थानीय माध्यमिक विद्यालयलाई सहयोग गर्ने योजना उहाँसँग रहेको छ।

जोल्तेपोखरीमा बेलबहादुर मश्रांगी रमा न्यौपानेजस्तै अन्य धेरै किसानहरूले प्रकृतिमा आधारित समाधानहरू जस्तै मौरीपालन, कृषिवन, प्राङ्गारिक मलमा आधारित तरकारी तथा खाद्य बालीहरू लगाई आम्दानी गरिरहेका छन्। यी सफल किसानहरूको प्रयासबाट प्राप्त सिकाइलाई स्थानीय, प्रदेश तथा संघीय सरकारका कृषि, जलाधार, वन तथा खाद्य नीतिहरूमा मूलप्रवाहीकरण गर्न सकेमा यसबाट जल, जंगल, जनावरको संरक्षणका साथै स्थानीयको आम्दानी समेत वृद्धि गर्न सकिन्छ।

 

 

No comments:

Post a Comment

प्राकृतिक स्रोतमा आधारित समाधान: किसानहरूको बढ्दो आकर्षण

 एकराज सिग्देल  प्राकृतिक स्रोतमा आधारित समाधानका उपायहरू (Nature-Based Solutions) अवलम्बन गरेको खण्डमा न्यून लगानीमा बढी प्रतिफल...