Tuesday, May 30, 2017

वातावरणमैत्री दिगो बिकास

पृष्ठभूमि
वातावरणमैत्री संरक्षणमा आधारित दिगो विकासको नमुना अगाडी बढाएको खण्डमा त्यो टिकाउ हुनुका साथै किफायेती समेत हुन्छ / वातावरणमैत्री स्थानीय शासन प्रारूप २०७० मा उल्लेखित विभिन्न सुचकको आधारमा वातावरणमैत्री घर, टोल, वार्ड र समग्र नगरपालिका तथा गाउँपालिका घोषणागर्ने पद्दतिलाई अभियानको रुपमा अगाडी बढाएको खण्डमा यसले सम्बृद्ध  नगरपालिका / गाउँपालिकाको सपनालाई साकार बनाउन मद्दत पुरयाउदछ / तसर्थ स्थानीय सरकारले वातावरणमैत्री क्रियाकलापहरुको पहिचान गरि त्यसलाई वार्षिक तथा आवधिक बिकास योजनामा मुल्प्रबाहीकरण गरि कार्यान्वयन गरेको खण्डमा त्यो विकास दिगो हुनुका साथै गरिबमैत्री पनि हुन्छ /       

वातावरणमैत्री दिगो बिकास 
वातावरण, विपद र जलवायु परिवर्तनलाई पूर्वाधार विकासको अभिन्न अंगको रुपमा हेरेको खण्डमा हाम्रो बिकास निर्माणका संरचनाहरु थप मजबुत र किफायती हुनुका साथै दिगो समेत हुन्छन / जैविक बिबिधता र पारिस्थिकीय प्रणालीको दिगो व्यवस्थापन र त्यसबाट प्राप्त लाभको न्यायोचित वितरणगर्ने परिपाटी बसालेको खण्डमा त्यसले अहिलेको मात्रै नभएर भाबिपुस्ताको समेत समुन्नत भविष्यलाई सुनिस्चितता प्रदान गर्दछ / बातावरणमैत्री दिगो बिकास नेपालको बिकास योजनाका प्रमुख उदेश्य हुनुका साथै संयुक्त राष्ट्र संघको दिगो बिकासको लक्ष्य समेत रहेको छ /
नेपालको संविधानमा प्रत्येक नागरिकलाई स्वच्छ तथा स्वास्थ्य वातावरणमा बाँच्न पाउने मौलिक हकको व्यवस्था गरी वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिको क्षतिपूर्ति पाउने हक समेत स्थापित गरीएको छ / विकास र वातावरणविच समुचित सन्तुलन कायम गर्न कानूनी व्यवस्था गर्न सकिने, अन्तरपुस्ता समन्यायको मान्यता अनुरुप स्थानिय समुदायलाई प्राथमिकता र अग्राधिकार दिंदै प्राकृतिक स्रोत साधनको संरक्षण, संवर्द्धन र वातावरण अनुकूलन दीगो रुपमा उपयोग गर्ने कुरा संबिधानमा उल्लेख छ / जलश्रोतको जनसहभागितामा आधारित बहुउपयोगी विकास, नविकरणीय ऊर्जाको प्रबर्धन, विकास र उपयोग, औद्योगिक तथा भौतिक विकासबाट प्रकृति, वातावरण वा जैविक विबिधता तथा पारिस्थिकिय प्रणालीमा पर्नसक्ने जोखिम वा नकारात्मक प्रभावलाई निर्मूल वा न्यूनिकरण गर्ने कुराहरू समेत उल्लेख गरिएको छ। नेपालको संविधानले परिलक्षित गरेको दीगो शान्ति, सुशासन, विकास र समृद्धी सङ्घिय संरचनामार्फत कार्यान्वयन गर्न सेवा प्रवाह, विकास तथा वातावरण सम्बन्धी कार्यहरू राज्यका तिनवटै तह (सङ्घ, प्रदेश तथा स्थानिय) तथा साझा अधिकारका सूचिमा समेत समावेश गरिएको छ।
गरिबी निवारणको लागी नीति, योजना तथा कार्यक्रमको तहबाट बिगत लामो समयदेखि विभिन्न प्रयासहरु हुँदाहुँदै  पनि यसतर्फ आसातित सफलता प्राप्त हुन सकी राखेको छैन / अतिचरिचरण, वातावरणमैत्री पूर्वाधार विकासको अभाब, अब्यवस्थित खेतिपाती तथा बसोबास आदिको कारण बन तथा पारिस्थिकीय प्रणालीमा आएको गुणात्मक क्षयीकरणले निम्त्याउने बाढी तथा पहिरोले गर्दा नेपालमा हरेक बर्ष उल्लेख्य धन जनको क्षति हुने गरेको छ / जसको कारण आगामी दिनमा गरिबी झन् बढ्ने निश्चीत छ / तसर्थ गरिबी न्यूनीकरणको मुद्दालाई प्रभावकारी रुपमा संबोधन गर्नको लागि वातावरणमैत्री, जलबायु उत्थान्सिल, र विपद प्रतिरोधात्मक क्रियाकलापहरु एकीकृत रुपमा कार्यान्वयन गर्नु नितान्त आबश्यक छ /

वातावरणमैत्री शासन पद्दतिको आबश्यकता  
वातावरणलाई विकास प्रक्रियाको अभिन्न अंगको रुपमा संबोधन गर्नु पर्दछ भन्ने अभिप्रायबाट  नेपाल सरकार संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयले वातावरणमैत्री स्थानीय साशन प्रारूप २०७० जारी गरेको छ र सोहि प्रारुपको अधिनमा रही बिभिन्न क्रियाकलापहरु कार्यान्वयन गर्दै आएको पनि छ / यस प्रारुपले वातावरणमा परेका र पर्न सक्ने नकारात्मक असरको न्यूनिकरण, विपद व्यवस्थापन र प्रतिरोधनशीलता, फोहरमैला व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण, धुलो तथा ध्वनी प्रदुषण नियन्त्रण, जैविक विविधता संरक्षण, तथा वातावरण संरक्षणका कार्यलाई आधारभूत तहदेखि नै सबैलाई जिम्मेवार बनाउन खोजेको छ । वातावरण, जनसंख्या, गरिवी विकासमा समन्वय तथा सहकार्यलार्इ प्रोत्साहित गरी वातावरणको दीगो व्यवस्थापनका लागि यसका आयामहरूलाई स्थानियकरण गर्दै समुदायको स्वामित्व बढाउन विभिन्न क्षेत्रगत ऐन, नियम नीतिमा छरिएर रहेका विषयहरूलाई सरल मापनयोग्य सूचक सहित एकिकृत रुपमा हेर्नुपर्ने कुरामा यो प्रारुपले जोड दिएको छ । यस प्रारुपले स्थानिय तहको नेतृत्वदायी भूमिकामा बिभिन्न आधारभूत तथा बिकसित सूचकहरू हासिल गरी घरपरिवार, टोलवस्ती, वडा, गाउं तथा नगर एवं जिल्ला हुंदै देशलाई नै वातावरणमैत्री बनाउने लक्ष्य राखेको छ

वातावरणमैत्री बिकास प्रक्रिया
यसरी समग्रमा वातावरणमैत्री, जलवायु परिवर्तन उत्थान्सिल, विपद प्रतिरोधात्मक क्रियाकलापलाई मध्यनजर राख्दै स्थानीय सरकारले बिकास योजना तर्जुमा तथा कार्यन्वयन गर्नु आबश्यक छ / बिकास योजना तर्जुमा गर्ने सिलसिलामा आबश्यक प्राकृतिक श्रोत नक्शाहरु बनाउदा आफ्नो नगर/गाउँ पालिकाको क्षेत्राधिकारभित्र रहेको जल, जमिन, जंगल, जैविक बिबिधता आदिको उपलब्धता आंकलन गर्नु पर्दछ साथै जलवायु परिवर्तन सन्निकट क्षेत्रहरुको पहिचान, विपद संबेदनसिल क्षेत्रको अवस्थिति तथा गरिबी र वातावरण बिचको अन्तर संबन्धका तथ्यांकहरु संकलन गर्नु पर्दछ र विश्लेषण गर्नु पर्दछ /
वातावरणमैत्री, विपद न्यूनीकरण हुने र जलवायु उत्थान्सिलका क्रियाकलापहरुलाई बिशेष प्राथमिकताका साथ बार्षिक तथा आवधिक बिकास योजनामा समाबेस गर्नु पर्दछ र ति क्रियाकलापरुको कार्यान्वयन सूनिश्चितताको लागी आबश्यक बजेट समेत बिनियोजन गर्नु पर्दछ / बिकास क्रियाकलापहरुको संभाव्यता अध्ययन गर्दा वातावरणीय पक्ष, जलबायु परिवर्तन र विपद ब्यबस्थापन लाई समेत ध्यान दिनु पर्ने हुन्छ / साथै उक्त विकास पूर्वाधारको डिजाइन तथा लागत अनुमानमा वातावरण, जलबायु उत्थानसिल र विपद न्यूनीकरणका बिस्तृत क्रियाकलापहरु पहिचान गरि तिनीहरुको ब्यबस्थापन योजना (Environment Management Plan) बनाउनु पर्दछ / यसरी तयार गरेको Environment Management Plan को कार्यन्वयन सुनिस्चितताको लागि आबश्यक रकम पूर्वाधार बिकासको डिजाइन लागत अनुमानमै समेट्नु पर्दछ /
उपसंहार

वातावरणमैत्री दिगो बिकासमा आधारित शासन पद्दति स्थानीय तहकोलागि सम्ब्रिध्धीको एउटा भरपर्दो अधार हो / घर, टोल, वार्ड र समग्र नगरपालिका तथा गाउँपालिकालाई वातावरणमैत्री घोषणा गर्ने कार्यलाई प्राथमिकताका साथ योजना तर्जुमा प्रक्रियामा मूलप्रवाहिकरण गरि सोहि अनुसार रकम बिनियोजन गरेको खण्डमा यसले स्थानीय तहको सम्ब्रिध्धीको यात्रालाई सहज बनाउँदछ / तसर्थ वातावरण, जलवायु परिवर्तन र विपद ब्यबस्थापनका अवयवलाई समग्र बिकास योजना तर्जुमा प्रक्रियामा मूलप्रबाहिकरण गरि बिकास प्रक्रिया अगाडी बढाएको खण्डमा यसले वातावरण संरक्षणमा टेवा पुर्याउनुका साथै साथै गरिबी न्यूनीकरणमा समेत सहयोग पूर्याउदछ / स्थानीय तहका नवनिर्बाचित पदाधिकारीहरुको ध्यान यसतर्फ जानु बान्छनीय देखिन्छ /
https://bhanjyangnews.com/#/news/2184