Friday, June 30, 2017

शुक्लागण्डकीको संब्रिध्धीको आधार: नदिजन्य पदार्थको ब्यबस्थापनमा सुधार

एकराज सिग्देल
पृष्ठभूमि
ढुंगा गिट्टी वालुवा शुक्ला गण्डकी नगरपालिकाको संब्रिध्धीको लागि एउटा बलियो आधार हो | यसको उत्खनन् तथा संकलन संबन्धि बिधिलाई लिएर उत्खनन गर्नु पर्छ र पर्दैन भन्ने बिषयमा बहस हुने गरेको छ | वास्तबमा दिगो वातावरणलाई कायम हुने सुनिस्चितता गर्दै उत्खनन तथा संकलन गर्ने पद्दतिलाई अबलम्बन गरेको खण्डमा यसबाट शुक्लागण्डकी नगरपालिकाको पूर्वाधार बिकासमा ठुलो टेवा पुग्नुका साथै राजस्व समेत ब्रिध्धी हुने निश्चित छ | यसको लागि तनहुँ जिल्ला समन्वय समिति मार्फत गराइएको सेती, सुरौदी र क्यांग्दीबाट ढुंगा गिट्टी वालुवा उत्खनन् संबन्धि गरिएको प्रारम्भिक वातावरणीय परिक्षण अध्ययन प्रतिबेदन (IEE) को  कार्यान्वयन गर्नु उपयुक्त हुन्छ |

ढुङ्गा, गिट्टी, बालुवाको महत्व
ढुङ्गा, गिट्टी, बालुवा नेपालका स्थानीय निकायहरुका लागि सन् २००० देखि महत्वपूर्ण राजस्वका स्रोत भएका छन् । यस्तो हुनमा स्थानीय स्वायत्त शासन ऐन, २०५५ र स्थानीय स्वायत्त शासन नियमावली, २०५६ को महत्वपूर्ण भूमिका छ, जसले यी स्रोतहरुमाथिको पूरै ब्यवस्थापकीय अधिकार तथा स्वामित्व स्थानीय निकायलाई प्रदान गरेको छ । यसले विकेन्द्रीकरणको आधारमा स्वायत्त अधिकारसम्पन्न स्थानीय निकायहरुलाई यस्ता स्रोतबाट राजस्व परिचालन गरी आफ्नो क्षेत्रको विकास गर्ने, गरिबी घटाउने, सहभागितात्मक सामुदायिक विकास प्रबर्धन गर्नेजस्ता अवसर प्रदान गरेको छ । ढुङ्गा, गिट्टी, बालुवाबाट आउने राजस्व स्थानीय निकायहरुको विकास निर्माणको प्रमुख श्रोत भएता पनि यसको हाल प्रचलनमा रहेको अबैज्ञानिक उत्खनन्, संकलन, प्रशोधन र ढुवानी गर्ने विधिले गर्दा धेरै अवाञ्छनीय वातावरणीय प्रभावहरु परेको पनि पाइन्छ एकातिर भने अर्को तर्फ स्थानीय सरकारको राजस्वमा भारि चुहावट भएको सुनिन्छ । नेपाल अधिराज्यको संविधानले जलाधार, खानी तथा खनिज पदार्थको संरक्षण, आदिलाई स्थानीय तहको अधिकारको रुपमा सूचीकृत गरेको छ । हाल संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय मार्फत ढुंगा, गिट्टी र बालुवाबाट प्राप्त हुने राजस्वको बाडफाड तथा यसको बैज्ञानिक ब्यबस्थापन प्रक्रिया संबन्धमा अध्ययन भैराखेको छ |

ढुंगा गिट्टी वालुवा निकाल्नु पर्दछ
शुक्लागण्डकी अन्तर्गत सेती, सुरौदी र क्यांग्दी खोलाको विभिन्न घाटबाट बार्षिक १८,९१,०६२ घन फिट ढुंगा गिट्टी बालुवा निकाल्न सकिने आंकडा तत्कालीन जिल्ला बिकास समिति मार्फत इश्बी सम्बत २०१५ मा गरिएको प्रारम्भिक वातावरणीय परिक्षण प्रतिबेदनले (IEE) औल्याएको छ | बिध्यमान नियम अनुसार प्रति घन फिटको रु २ का दरले १८,९१,०६२ घन फिटको बार्षिक जम्मा रु. ३७ लाख ८२ हजार सम्मको आम्दानि जिल्लाले उक्त क्षेत्रबाट उठाउन सक्दछ | ढुंगा गिट्टी वालुवा बिकास पूर्वाधार निर्माणको लागि अत्याबश्य छ, त्यस कारण यसको उत्खनन एबं संकलन गर्नु पर्दछ | भू-क्षय कम हुने गरि निश्चित ठाउँबाट व्यवस्थित तवरबाट ढुंगा गिट्टी वालुवा निकाल्दा यसबाट नदि तटीयक्षेत्रका खेतियोग्य जमिन बचाउन सकिन्छ एकातर्फ भने अर्कोतर्फ नदीको प्राकृतिक वहाव कायम हुन गइ जलचरको बासस्थान समेत सुरक्षित हुन्छ | तसर्थ वातावरणीय प्रभाब मुल्यांकन अध्यनको आधारमा निश्चित क्षेत्रमा निश्चित परिमाण निकाल्न दिनु उपयुक्त हुन्छ | यी नदिजन्य बस्तुको उत्खनन तथा संकलन संबन्धि वातावरणीय  अध्ययन प्रतिबेदनको आधारमा गर्ने हो भने यसबाट दिर्घकालिनरुपमा नगरपालिकाको राजश्व ब्रिध्धीमा टेवा पुग्दछ जसले गर्दा त्यस क्षेत्रका मानिसको जिवनस्तरमा सुधार ल्याउनुको साथै समग्र देशको आर्थिक विकासमा सहयोग पुग्दछ । बगेर जाने गीगिट्टी बालुवालाई गह्रौं उपकरणको कम प्रयोग गरि कच्चा पदार्थ निकाल्दा धेरै स्थानीय युवाले रोजगार पाउने संभावना रहनुका साथै यसबाट वातावरणमा पर्न सक्ने नकारात्मक प्रभावलाई न्यूनीकरणगर्न मद्दत पुग्दछ |

ढुंगा गिट्टी वालुवा निकाल्न दिनु हुदैन
नदिहरु खासगरी सेतिनदिको पुरानो पुलभन्दा माथिबाट ढुंगा गिट्टी वालुवा निकाल्न दिनु हुदैन भन्ने मत पनि प्रसस्त पाइन्छ र यसका पछाडीको तर्क पनि ममन योग्य छन् | यी मत राख्नेहरुका अनुसार पुरानो पुलभन्दा माथि सुरौदी र सेतीको दोभान नजिकैबाट ढुंगा गिट्टी वालुवा जथाभाबी रुपमा निकालेको खण्डमा पुलभन्दा तलको भाग थप गहिरिन जान्छ र तल्लो नदि तटीय क्षेत्र गुफामा परिणत हुन सक्दछ र अन्तत नदि किनारमा रहेका मानब बस्तीहरु बाढीको जोखिममा पर्नुका साथै तल रहेको पक्कि पुलमा समेत क्षति पुग्न सक्दछ | तसर्थ नदि किनारका बस्ति तथा झोलुंगे पुलभन्दा मुनिको नयाँ पक्कि पुलको सुदुर भविष्य सुनिस्चितता गर्नको लागि पनि ढुंगा गिट्टी बालुवा निकाल्न दिनु हुँदैन | यदी बिध्यमान अवस्थामा रहेको अबैज्ञानिक तवरबाट ढुंगा गिट्टी बालुवा संकलन तथा उत्खनन गर्ने पद्दतिलाई बेलैमा नियमन नगरे अंगारे चौतारा भन्दा उत्तर पूर्वमा अवस्थित सेती र सुरौदिनदीको बिचको भाग थप सांगुरिदै जाने र अन्तत सेतीनदी त्यहीँबाट सुरौदिमा मिसिन सक्ने सम्भावना हुन्छ | यदी त्यस्तो भयो भने सुरौदी नदीले संपुर्ण तिबतियन सरणार्थी वस्तीलाई बगाउन सक्ने जोखिम रहेको छ | तसर्थ ढुङ्गा, गिट्टी, बालुवाबाट आउने राजस्व नगरपालिकाको प्रमुख आय स्रोत हुने भएता पनि यसको हाल प्रचलित उत्खनन्, संकलन, प्रशोधन र ढुवानी गर्ने विधिले गर्दा धेरै अवाञ्छनीय वातावरणीय प्रभावहरु पर्न सक्ने देखिन्छन । यसकारण पनि सेती नदीको ढुंगा गिट्टी बालुवा निकाल्न दिनु हुँदैन |

प्रारम्भिक वातावरण परिक्षण प्रतिबेदन
नेपाल सरकारको विद्यमान वातावरण संरक्षण ऐन, २०५४ तथा वातावरण संरक्षण नियमावली, २०५४ अनुसार कुनै पनि नदीबाट ढुङ्गा, गिट्टी तथा वालुवा निकाली निकासी गर्नु पूर्व उक्त प्रस्तावको प्रारम्भिक वातावरणीय परिक्षण (IEE) अथवा वातावरण प्रभाव मूल्यांकन (EIA) गर्नु पर्ने हुन्छ । यसै कानुनि प्राबधान अनुसार विद्यमान नदीमार्गलाई सुरक्षित र सन्तुलन राख्नका लागि तनहूँ जिल्लाको सेती, सुरौदी र क्यांग्दी नदि क्षेत्रबाट दिगो र वातावरणमैत्री रुपले ढुङ्गा, गिट्टि तथा बालुवा (नदीजन्य पदार्थ) उत्खनन तथा संकलन कार्यका लागि प्रारम्भिक वातावरणीय परीक्षणको प्रतिवेदन, बैशाख, २०७१ संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट स्वीकृत भै कार्यान्वयनमा रहेको छ | यस प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदनले सेती नदीका क्याङदी दोभान, कुडीखोलाघाट, तालबेसीघाट, किमलडाडा, हलेदीघाट र कसेरीघाट लगाएत क्षेत्रबाट ढुङ्गा, गिट्टी तथा बालुवा दिगो रुपमा संकलन कार्य गर्दा दैनिक १९८ घनमिटर मात्र संकलन गर्न सिफारिस गरेको छ | यो प्रस्ताव कार्यान्वयन गर्दा नदी कटानी, भूक्षय जस्ता दैविक प्रकोपहरु निम्तिने सम्भावना ज्यादै न्यून हुनेछ । उत्खनन् कार्यलार्ई वातावरणमैत्री र दिगो बनाउँनको लागि नदीको दायाँ बायाँका भित्री किनारमा कम्तिमा ५ मि. छोडेर मात्र ढुङ्गा, गिट्टी, वालुवा संकलन उत्खनन गरिनु पर्दछ । संवेदनशिल क्षेत्रहरु जस्तै पुल, मन्दिर, वजार र वस्ती दायाँ वायाँ तथा तल माथि कम्तीमा ५०० मिटरसम्म छाडेर उत्खनन गरिनु पर्दछ । नदीको धार नै परिवर्तन हुने गरी श्रोत संकलन नगर्ने, नदीको पानीको सतहभन्दा गहिरो हुने गरी नदी किनारबाट श्रोत उत्खनन नगर्ने जस्ता कार्यहरु उक्त प्रतिबेदनले सिफारिस गरेको छ |

उपसंहार
ढुंगा गिट्टी वालुवा उत्खनन गर्दा र नगर्दाको यसबाट वातावरणमा पर्न सक्ने फाइदा र बेफाइदा लाई मसिनो ढंगबाट केलाउनु आबश्यक छ र उपयुक्त ढंगबाट श्रोत संकलन तथा उत्खनन् गर्नु पर्दछ | नदिजन्य पदार्थको दिगो ब्यबस्थापनको लागि बिभिन्न उपायहरु बिभिन्न निकायहरुबाट गरिनु आबश्यक छ | केन्द्रिय सरकारले ढुंगा गिट्टी वालुवाबाट प्राप्त हुने राजस्व बाँडफाड संबन्धि नीति तत्काल बनाइनु पर्दछ र साथै दिगो संकलन तथा उत्खनन् प्रक्रिया संबन्धि नमुना निर्देशिका स्थानीय सरकारलाई छिटो भन्दा छिटो उपलब्ध गराइनु पर्दछ | त्यसै गरि शुक्ला गण्डकी नगरपालिकाले ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन्,संकलन, प्रशोधन, ओसारपसार र बिक्री, वितरणको राम्रो अनुगमन गर्ने संयन्त्र बनाउनु पर्दछ | नगरपालिकाले गर्नुपर्ने अन्य कामहरुमा यस व्यवसायबाट हुने आम्दानीको करिब ३० प्रतिशत खोला नियन्त्रण कार्यमा र वातावरणीय दुष्प्रभाव परेकालाई क्षतिपूर्ति दिनका लागि छुट्याउने नीति बनाउनु आबश्यक छ । नगरपालिकाले तनहुँ जिल्ला समन्वय समिति कार्यालयमा संपर्क गरि सेती, सुरौदी तथा क्यांग्दी नदिमा ढुंगा गिट्टी वालुवा उत्खनन र संकलन संबन्धि भएको IEE अध्ययन प्रतिबेदनको आधारमा ब्यबस्थापन निर्णय गरेको खण्डमा यसबाट वातावरणीय क्षेती न्युन राख्दै धेरै भन्दा धेरै राजस्व उठाउन सकिन्छ | यसतर्फ नगरपालिकाको ध्यान जानु जरुरि छ |

 यो लेख तनहुँखबर दैनिक को मिति २०७४/३/१५ को अंकमा प्रकाशित भएको छ 

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home